७ असार २०८३, आईतवार

सामाजिक संजालबाट सडकमा ओर्लिएको समूहले प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शन

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार ०७:१३ मा प्रकाशित

फाइल / तस्बिर

काठमाडौँ — कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो । शनिबार नै संविधान सभाबाट नेपालको अतिक्रमित भूभाग समेटिएर जारी गरिएको नयाँ नक्सालाई निसान छापमा राख्ने गरी संविधान संशोधन गर्दैछ । दिउसो १ बजे यसका लागि संसद बैठक बस्दैछ । यसैलाई मध्यनजरगरि आजको प्रदर्शन नगर्न साझा पार्टी लगायतले आन्दोलनकारीलाई आग्रह गरेका थिए ।

प्रदर्शनमा नाराबाजी गरिएको छैन । मंगलबार र बिहीबारजस्तो प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि हानेको छैन । प्रदर्शन सुरु हुनेबेलैमा प्रहरीले आन्दोलनको आयोजकमध्येको एक समूह ‘इनफ इज इनफ’का इशानलाई भने पक्राउ गरेको छ । उनीसँगै माइतीघरमा रहेका अभिषेक सिंहले प्रदर्शनस्थलबाटै इशानलाई पक्राउ गरिएको बताए ।

‘आज संसदबाट नयाँ नक्सालाई संविधान र निसान छापको अंग बनाउने प्रस्ताव पारित गर्ने भएकोमा हामीले समर्थन गरेका छौं । हाम्रो प्रदर्शनमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेट्ने नयाँ नक्साको समर्थनका प्लेकार्ड छन् । यसमा सरकारको समर्थन गर्छौं तर कोरोना नियन्त्रणमा भएका असक्षमता र भ्रष्टाचारबारे प्रश्न उठाउन हामी छोड्दैनौं,’ सिंहले भने । उनले प्रदर्शन शान्तिपूर्णरुपमा भइरहेको पनि बताए ।

सातजना विदेशी पक्राउ : काठमाडौं प्रहरी प्रमुख

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी श्यामलाल ज्ञवालीले प्रदर्शनबाट सातजना विदेशी पक्राउ गरिएको बताए । उनका अनुसार तीनजना चिनियाँ तथा एक-एकजना अमेरिकी, क्यानेडियन, नर्वेजियन र अष्ट्रेलियन नागरिकलाई प्रदर्शनस्थलमा प्लेकार्ड बोकिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनले तीनजना नेपाली नागरिक पनि पक्राउ परेको बताए । उनीहरुलाई भृकुटीमण्डपस्थित नगरप्रहरीमा राखिएको छ ।

आन्दोलनमा सहभागी सिंह उनीहरुलाई सैनिक मुख्यालय भद्रकाली जाने बाटोबाट प्रहरीले पक्राउ गरेको आफूले थाहा पाएको बताउँछन् । ‘केही विदेशीलाई पक्राउ गरिएको छ भन्ने मैले सुनें, ती हाम्रो आन्दोलनमा सहभागी हुन् भन्ने मलाई थाहा छैन,’ उनले भने ।

प्रहरी स्रोतले नेपालको कानुनविपरित प्रदर्शनमा सहभागी भएकाले विदेशीलाई पक्राउ गरिएको बताएको छ । गृह मन्त्रालयले यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको एक अधिकारीले बताए । सभार – ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x