३२ असार २०८३, बिहीबार

स्वतन्त्र सेनानी पन्ना चाचाजी’ को पाँचौं स्मृति दिवस

एसीपी संवाददाता

१६ माघ २०८१, बुधबार १०:४३ मा प्रकाशित

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाको पाँचौं स्मृति दिवसका अवसरमा मंगलबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । महासंघ बाँके शाखाको आयोजना एवम् स्व. पन्नालाल गुप्ता प्रतिष्ठानको सहकार्यमा लोकतन्त्र र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली पत्रकारिताका ‘आदर्श’ गुप्ताको ब्यक्तित्व र कीर्तित्वमाथि चर्चा गरिएको छ । गुप्ताको अनुकरणीय ब्यक्तित्व नेपाली पत्रकारिताका लागि पाठशाला भएको भन्दै बक्ताहरुले उनको प्रेरणामा पत्रकारिता जगत सधैं सिंचित भइरहनुपर्नेमा जोड दिए ।

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वर्गीय गुप्ताको फोटोमा माल्यार्पण गरी भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईंले पत्रकारितामा क्रियाशील नयाँ पुस्ताले गुप्ताको सादगी, आदर्शवादी र निष्ठाबान जीवनशैलीबाट पाठ सिक्नुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको पर्याय भएको भन्दै गुप्ताले लोकतन्त्र पुनःस्थापनाका लागि गरेको मिसन पत्रकारिता गौरबपूर्ण रहेको बताए । उनले पत्रकार महासंघ बाँके शाखाले गुप्ताको स्मृतिकरणका लागि अगुवाई गर्नुपर्नेमा जोड दिए । यसअघिको नेतृत्वले साधारणसभामा पन्नालाल चोक र मार्ग नामाकरणका लागि पहल गर्ने घोषणा गरेको स्मरण गराउँदै चौलागाईंले त्रिभुवन चोक पुर्वको लाइनलाई पन्नालाल गुप्ता मार्ग र चोकलाई पन्नालाल चोक नामाकरणका लागि पत्रकार महासंघको अगुवाईमा सबै पत्रकारसम्बद्ध संगठनहरुले पहल थाल्नुपर्ने बताए ।प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ताका जेष्ठ सुपुत्र विजय कुमार गुप्ताले समाजिक र राजनीतिक परिवर्तनका लागि गुप्ताले पत्रकारितामार्फत गरेको योगदानको स्मरण गरे । नेपालगञ्जका पूर्व मेयर समेत रहेका उनले गुप्तालाई आफ्नो बुवा भन्दा बढी कर्मयोगी र परिवर्तनकामी ब्यक्तिका रुपमा बुझेको बताए । गुप्ताले महासंघले संस्थागतरुपमा स्मृति दिवस मनाउन थालेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद समेत दिए । उनले पन्नालाल गुप्ताको सडक र चोक नामाकरणका लागि पत्रकार महासंघलाई संस्थागत पहलकदमी लिन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष जयनारायण शाहले चाचालाई पत्रकारिताका युग पुरुषको रुपमा चित्रण गर्दै अबको पुस्ताले उनले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताए । पत्रकारितामाथि पनि समाजले थप्रै प्रश्न गरिरहेको भन्दै उनीहरुले पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भए पनि स्वच्छन्दताले गाँज्न नहुनेमा सजग हुनुपर्ने बताए ।

बाँके शाखा अध्यक्ष गिरीले दिवंगत शाखा अध्यक्ष गुप्ताको स्मृतिमा कार्यक्रमको सुरुवात गरेर उनको योगदान र ब्यक्तित्वमाथि चर्चा गर्दै नयाँ पुस्तामा गुप्ताको उज्यालो र अनुकरणीय छवि प्रसार गर्न थिति बसालेको बताए । गिरीले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै प्रेस स्वतन्त्रता हननका घटना बर्षेनी बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । यसमा पत्रकार आचारसंहिता पालनाको विषय पनि कहीँ न कहीँ जोडिएको भन्दै सजकतापूर्वक पत्रकारिता कर्म गर्नुपर्नेमा उनको जोड छ । उनले पत्रकारितामा पेशागत मर्यादा र जिम्मेवारीबोधको आवश्यकतामाथि चर्चा गर्दै जिम्मेवार र नैतिकबान पत्रकारिताका लागि आग्रह समेत गरे । गिरीले गुप्ताको नाममा सडक र चोक नामाकरण गर्ने बिषयलाई महासंघले अगुवाई गरी पहलकदमी लिने प्रतिबद्धता जनाए ।महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ पत्रकार शिव डोटेल तथा पत्रकारहरु निशु जोशी, साबित्री गिरी, विरेन्द्र जैशी, आशिष गुप्ताले पनि स्वर्गीय गुप्तालाई स्मरण गर्दै आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गरेका थिए । स्मृति दिवसको अवसरमा प्रतिष्ठानले किरण विशेषांक समेत प्रकाशित गरेको छ । गुप्ता किरण साप्ताहिकका सम्पादक थिए । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ताको २०७६ साल माघ १५ गते उनको निधन भएको थियो । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तत्कालीन अध्यक्ष सुरेश आचार्यको पालामा नेपाल पत्रकार महासंघले गुप्तालाई ‘प्रेस स्वतन्त्रता सेनानी’ घोषित गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x