गाजामा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात किन
इजरायल र हमासबीच युद्धविराम तथा बन्धक रिहाइ सम्झौता भएपछि पनि गाजामा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। अमेरिकी समाचार माध्यम सीएनएनले प्रकाशित गरेको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ‘अज्ञात’ भनेर उल्लेख गरिएको छ।
रिपोर्टअनुसार इजरायली सरकारले उपलब्ध गराएको ४६ बन्धकको सूचीमा २६ जनाको मृत्यु भइसकेको र २० जना जीवित रहेको जनाइएको छ। तर, विपिन जोशी र इजरायली नागरिक तामिर निम्रोदीलाई अज्ञात सूचीमा राखिएको छ। बुधबार राति मात्र विपिनको दुई वर्ष पुरानो भिडिओ सार्वजनिक गरिएको थियो, जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै कमाउँदै कार्यक्रममा इजरायल आएको बताएका छन्।
यद्यपि, उक्त भिडिओ पुरानो भएकाले उनको हालको अवस्था अझै स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वा मंगलबारसम्ममा बन्धकहरू रिहा हुनसक्ने बताएका छन्। सम्झौताअनुसार इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई मुक्त गर्नेछ भने हमासले जीवित रहेका सबै २० बन्धकहरू र मृत्यु भएकामध्ये २८ जनाका शव फिर्ता गर्नेछ।
इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागू हुने अपेक्षा गरिएको छ।
तर, नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी नआएपछि परिवार र देशभरका नेपालीहरू अझै प्रतीक्षामा छन्। हिमाल पत्रीका



