नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख महरा पक्राउ
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको थियो। यस प्रकरणमा उनीविरूद्ध सीआईबीले यसअघि मुद्दा नचलाई राखेको थियो।
अन्तरिम सरकार गठन भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका मुद्दाहरू ‘ब्रेक-थ्रु’ हुने भनेका थिए।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।
सीआईबीले उनलाई भन्सार छली तथा संगठित अपराध कसुरमा पक्राउ गरेको जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडान नं एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त भेप जफत भएको थियो। भेपभित्रको ८ करोड ५५ लाख २८ हजार रूपैयाँबराबरको सुन भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।



