नेता लेखराज भटटको पुर्ख्यौली घर योजनाबद्ध रूपमा जलाइएको दाबी
पुर्ब माओवादी नेता तथा हालका नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले अत्तरियास्थित आफ्नो पुर्ख्यौली घर योजनाबद्ध रूपमा जलाइएको दाबी गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आगलागीबाट ९ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको र दुर्लभ किताब, युद्ध इतिहाससम्बन्धी कागजात, बचपनका फोटोदेखि घरपालुवा कुकुरसम्म जलेको बताए। 
भट्टले आन्दोलनको नाममा भएको आगजनी स्थानीयस्तरमै आयोजना गरिएको भन्दै सरकार कारबाहीमा उदासीन भएको आरोप लगाए। उनले भने, “मैले भ्रष्टाचार वा उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार छु, तर योजनाबद्ध रूपमा घर जलाइएको हो।”
उनकी श्रीमतीले समेत आन्दोलनकारीले घर जलाउँदा गोठमा लुकेर बाँच्नुपरेको अनुभव सुनाइन्। उनले यो घर पुर्ख्यौली सम्पत्ति भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरिन्। भट्टले सहभागीहरूबीच माग राख्ने र तोडफोड गर्ने छुट्याएर छानबिन गर्नुपर्नेमा जोड दिँदै संविधान नै सङ्कटमा परेको चेतावनी दिएका छन्। लोकतन्त्रनेपाल



