नेपालगन्जमा श्रम संस्कृति पार्टीको दोस्रो नगरस्तरीय श्रमदान कार्यक्रम सम्पन्न, श्रमदानलाई सामाजिक सेवा र नागरिक जिम्मेवारीसँग जोड्दै अभियानलाई निरन्तरता
दिनेश ठाकुर नेपालगन्ज, असोज १९ — श्रम संस्कृति पार्टी बाँकेले श्रम, श्रमदान तथा सामाजिक सेवामार्फत समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिँदै नेपालगन्ज उपमहानगरपालिकामा दोस्रो नगरस्तरीय श्रमदान कार्यक्रम सम्पन्न गरेको छ।
नगर श्रम संयोजक मो. इम्तियाज राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका–५ स्थित एमपी स्कुल रोड हुँदै श्मशानघाट जाने बाटोमा रहेको हजरत अब्दुल सत्तार अलि जी दरगाह परिसरमा सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
श्रमदानका क्रममा दरगाह परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै सार्वजनिक तथा धार्मिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने कार्यमा सहभागीहरूले सक्रिय रूपमा श्रमदान गरेका थिए।
कार्यक्रममा वरिष्ठ श्रमदाता तथा केन्द्रीय सदस्यमा सिफारिस राजन राना मगर, संगठन विभाग संयोजक गगन सिंह थापा मगर, जिल्ला सचिव दण्ड प्रसाद शर्मा लगायत स्थानीय श्रमदाताहरू उषा गौतम, अस्लाम अन्सारी तथा दरगाह समितिका अध्यक्ष बन्टी खासहित सेबु शेख, माजिद खान, मुस्तफा अन्सारी, आबेश खान, नादिर खा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक स्थलको सरसफाइ कुनै एक निकाय वा संस्थाको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका थिए। श्रमदानलाई समाजसेवा, नागरिक जिम्मेवारी र सामाजिक एकताको माध्यमका रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
श्रम संस्कृति पार्टीले यसअघि पनि बाँकेका विभिन्न स्थानमा श्रमदान तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही अभियानलाई थप व्यवस्थित बनाउँदै नेपालगन्जमा नगर श्रम संयोजक मो. इम्तियाज राईको नेतृत्वमा सम्पन्न दोस्रो नगरस्तरीय श्रमदान कार्यक्रमले नगरमा श्रम संस्कृतिको अभियानलाई थप संस्थागत र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
पार्टीले श्रमदानलाई केवल सरसफाइ अभियानमा सीमित नराखी श्रमप्रतिको सम्मान, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व र नागरिक सहभागितामार्फत सकारात्मक परिवर्तन ल्याउने अभियानका रूपमा अघि बढाउने जनाएको छ।
यसैबीच, श्रम संस्कृति पार्टी बाँकेका जिल्ला उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग संयोजक मोहम्मद रहिस हलवाईले श्रमदानमार्फत सामाजिक उत्तरदायित्व र नागरिक सहभागिताको संस्कार विकास गर्न पार्टीले अभियानलाई निरन्तरता दिने बताउनुभयो।
उहाँले नेपालगन्जलाई सफा, सुन्दर र व्यवस्थित बनाउन स्थानीय समुदायसँग सहकार्य गर्दै आगामी दिनमा पनि नियमित तथा आवश्यकताअनुसार श्रमदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।


