२ श्रावण २०८३, शनिबार

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार १०:१८ मा प्रकाशित

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’ भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

यसअघि भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणमा आएका थिए ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो ।

को हुन् नरभाने ?

सन् १९६० मा बम्बईको पुणेमा जन्मिएका मनोज मुकुन्द (एमएम) नरभानेले ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हालेका थिए । हाल भारतमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रहेका विपिन रावतको उत्तराधिकारीका रुपमा उनी सेनाध्यक्ष बनेका हुन् ।

उनका बुबा मुकुन्द भारतीय वायु सेनाका ‘विङ कमाण्डर’ थिए भने उनकी आमा ‘अल इण्डिया रेडियो’की आरजे (रेडियो जक्की) थिइन् । पुणेको जनप्रबोधिनी प्रशालामा विद्यालय तहको अध्ययन गरेका नरभाने भारतको राष्ट्रिय प्रतिरक्षा एकडेमी र भारतीय सैन्य एकडेमी, देहरादुनका पूर्वविद्यार्थी समेत हुन् ।

उनले मद्रास विश्वविद्यालय, चेन्नईबाट प्रतिरक्षा अध्ययनशास्त्रमा स्नात्तकोत्तर तहको अध्ययन गरेका छन् भने रक्षा र व्यवस्थापन शिक्षामा दवी अहिल्या विश्वविद्यालयबाट एमफिल गरेका छन् ।

चार दशक लामो सैनिक जीवनमा उत्तरपूर्व र जम्मु–कास्मिर दुवैमा काम गरेको अनुभव नरभानेसँग छ । श्रीलंकमा शान्ति स्थापनार्थ भारतीय सेनाको ‘अपरेशन पवन’मा पनि उनी सहभागी थिए ।

विगतमा नरभाने भारतको राष्ट्रिय राइफल बटालियनको कमाण्डर रहिसकेका छन् । सेना प्रमुख हुनुअघि पनि उनले भारतीय सेनाको एकीकृत मुख्यालयमा दुई कार्यकाल काम गरेको भारतीय सेनाको वेवसाइटमा उल्लेख छ । अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x