६ श्रावण २०८३, बुधबार

प्रचण्डले जेन जि लाई आकर्षित गर्दै

एसीपी संवाददाता

१ कार्तिक २०८२, शुक्रबार १०:४८ मा प्रकाशित

पछिल्लो समय प्रचण्ड जेनजी र युवापुस्तालाई आफ्नो पार्टीमा आकर्षित गर्न सक्रिय भएका छन्। जेनजी र युवा वर्गका लागि निश्चित प्रतिशत कोटा छुट्याएर पार्टीको पदाधिकारीमा समावेश गरिने बताउँदै आएका प्रचण्डले अब युवाको आन्दोलनलाई नै माओवादीको विचार र अभियानसँग जोड्दै आफ्नो राजनीतिक सन्देश स्पष्ट पार्न थालेका छन्।

चितवनको भरतपुरमा बिहीबार बिहान पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको जेनजी आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा व्याख्या गरे। उनका अनुसार, यो आन्दोलन माओवादीले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी एजेन्डासँग मेल खाने प्रकारको छ।

प्रचण्डले भने, “माओवादी जेनजीहरूकै पार्टी हो। युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।”

उनले २३ गते राजधानीमा भएको जेनजी आन्दोलनलाई शान्तिपूर्ण प्रदर्शनको रूपमा लिँदै त्यस दिन देखिएको सुरक्षा संयन्त्रको गम्भीर लापरवाहीलाई घटनाको मुख्य कारण ठहर गरे। “सरकारले संवेदनशीलता नदेखाएकाले शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्यो। कलेज ड्रेसमा रहेका युवामाथि टाउको र छाती लक्षित गरी गोली हान्नु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद घटना हो,” उनले भने।

प्रचण्डका अनुसार माओवादी केन्द्रले घटनापछि आकस्मिक बैठक बोलाएर आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामाको माग गर्ने निर्णय गरेको थियो।

संयोजक प्रचण्डले पार्टीका कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न आग्रह गर्दै भने, “यो युवाको चेतना नै अबको राजनीतिक दिशा हो। माओवादी फेरि जनताको आन्दोलनकै केन्द्र बन्नेछ — जेनजी र नयाँ पुस्ताले यही यात्रालाई नयाँ ऊर्जा दिनेछन्।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x