बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ राजनीतिक दल
वायुसेवा कम्पनी बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ राजनीतिक दल खोलेका छन्। उनीहरूद्वारा गठन गरिएको पार्टी ‘गतिशील लोकतान्त्रिक पार्टी’ नाममा बिहीबार निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार उक्त दल आयोगमा ५१७ नम्बरमा दर्ता गरिएको हो। पार्टीको अध्यक्षमा दिनेश प्रसाईं र महासचिवमा पियुषप्रसाद कायस्थ रहेका छन्। बस्नेत स्वयं पार्टीका सदस्यका रूपमा दर्ता भएका छन्।
पार्टीको विधान अनुसार पदाधिकारीहरूले प्रत्यक्ष रूपमा चुनाव नलड्ने व्यवस्था गरिएको छ, तर सदस्यका रूपमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न सक्ने छन्। यसले बुद्ध एयरका मालिक बस्नेतलाई पनि आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने बाटो खुला गरेको देखिन्छ।
निजी क्षेत्रका सफल व्यवसायीहरूको राजनीतिमा बढ्दो प्रवेशबीच बस्नेतको यो कदमले नयाँ बहस सुरु भएको छ। विश्लेषकहरूका अनुसार यो पार्टीले “शासनमा दक्षता र पारदर्शिता” भन्ने नारा बोकेर मध्यम वर्ग र पेशागत समूहलाई आकर्षित गर्ने प्रयास गर्न सक्छ। हिमालपत्रीका


