१३ आश्विन २०८३, मंगलवार

भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा ४ लाख ३० हजारलाई दिइने

एसीपी संवाददाता

११ माघ २०७७, आईतवार १८:२० मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।

नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर भन्दै बिरोध प्रदर्शन

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान सुरु हुनेछ ।

मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ ।

१० प्रतिशतसम्म खोप खेर जाने मन्त्रालयको अनुमान छ । १० प्रतिशत खोप खेर नगए करिब करिब पौने ५ लाख फ्रण्टलाइनरलाई पहिलो चरणमै खोप दिनसक्ने मन्त्रालयको आकलन छ ।

त्यसो भएको खण्डमा जेलमा रहेका कैदीबन्दी र वृद्धआश्रममा रहेका वृद्दहरुलाई खोप दिने योजना बनाएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा ११ वटा बुथबाट खोप अभियान सुरु हुनेछ । त्यसको लागि  कोभिड अस्पताल र मेडिकल कलेज तोकिएको छ । ‘अहिले नै यो यो अस्पताल र मेडिकल कलेजमा बुथ बनाउने  भनेर तोकिसकेको छैन्’ डा. गौतम भन्छन्, ‘तर कोभिडविरुद्ध उपचार गरेका अस्पतालमा बुथ बनाउन प्राथमिकतामा राखिनेछ ।’

निजी अस्पतालको फ्रन्टलाइनरलाई खोप दिएतापनि खोप लगाउने बुथ नराखिने डा. गौतम बताउँछन् ।  उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल सरुवा रोग अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित भक्तपुर अस्पताल, थापाथलीस्थित प्रसुती गृह, बलम्बुस्थित एपीएफ अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, वीर अस्पताल र केही मेडिकल कलेजमा खोप लगाउने बुथ राख्नको लागि तयारी गरिएको छ ।

एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने डा. गौतम बताउँछन् । मन्त्रालयले १८ बर्षमाथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यही केन्द्रमा रहनुपर्ने नियम बनाएको छ ।

आइतबार नै स्वास्थ्य सेवा विभागबाट विभिन्न प्रदेशमा ४ लाख ५० हजार थान खोप लिएर विभागको भ्यान गइसकेको छ । विभागले जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरेको थियो । यो सूचीमा केही घटबढ हुन सक्नेछ । सोही कारण ४ लाख ५० हजार डोज खोप पहिलो चरणमा पठाएको व्यवस्थापन महाशाखाको प्रमुख डा. भिमसिंह तिंकरी बताउँछन् । अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x