सरकारले पाएको जनमत आफू खुशी प्रयोग गर्न खोजेको पौडेलको आरोप
फाल्गुन १२,एजेन्सी
— नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले आफूले पाएको जनमतलाई आफूखुसी प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । सोमबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले वर्तमान सरकारले बहुमतको आडमा मनलाग्दी गर्न थालेको आरोप लगाए ।
मुलुकलाई कम्युनिष्टीकरण,भ्रष्टीकरण र संविधान तोडमरोड गर्न वर्तमान सरकार व्यस्त रहेको वरिष्ठ नेता पौडेलको भनाइ छ
नेता पौडेलले संविधान बंग्याउने कानुन बनाएर सरकार एक तन्त्रीय शासनको अभ्यास गर्न खोजेको बताए। उनले भने, ‘वर्तमान सरकार मुलुकलाई कम्युनिष्ट मुलुक बनाउने प्रयास गर्दै छ। त्यसका विरुद्ध कांग्रेस आन्दोलनमा जान्छ।’
अनौपचारिक रुपमा उनले वर्तमान सरकार राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजिरहेको बताए। प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपतिको कार्यालय फराकिलो बनाउने कार्य कार्यकारीको अभ्यासका लागि भएको नेता पौडेलको भनाइ थियो। मुलुकमा राष्ट्रपति शासन लागू गर्ने पूर्व तयारी अनुरुप प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपति कार्यालय फराकिलो बनाउन खोजिएको बताए।