सहकारी ठगीमा रविलाई निर्दाेष बताउने प्रधानमन्त्री र स्वर्णिम वाग्लेलाई कांग्रेस सांसद चौरसियाले संसदमा पढाए कानुन
काठमाडौं। सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा उपसभापति स्वर्णिम वाग्ले लागेपछि कांग्रेस सांसद अजयकुमार चौरसियाले काउन्टर जवाफ दिएका छन्।
केही दिन अघि संसदमा प्रचण्डले गृहमन्त्री रविमाथि लागेको आरोपको कुनै आधार नरहेको र उनी निर्दाेष रहेको भन्दै बचाउ गरेका थिए भने बुधबारको संसद बैठकमा वाग्लेले गृहमन्त्रीको राजीनामा मागिएको विषयलाई विषयान्तर गरेका थिए। र, सांसदहरुलाई पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेका थिए ।
जवाफमा कांग्रेस सांसद चौरसियाले सहकारी ऐन र मुलुकी संहिता अपराधमा भएका व्यवस्थाबारे सुनाएका थिए। ‘केहीबेर अगाडि एक जना पूर्वकांग्रेसी विद्वान माननीयजी बोल्दै हुनुहुन्थ्यो। उहाँ सहकारी ठगीको समाधानबारे बोल्दै गर्दा त्यहाँ रहेका कसुरका बारेमा ध्यानै राख्नु भएन,’ उनले भने, ‘नेपालको संविधानले, सहकारी ऐनले ती कसुरहरुको बारेमा दण्डसजायको व्यवस्था गरेको छ।’
चौरसियाले सहकारी ऐनको दफा १२२(१०) सहकारी संस्थालाई हानी पुर्याउनेगरी काम गर्ने गराउनेलाई चार वर्षदेखि ६ वर्षसम्म कैद सजायको व्यवस्था रहेको स्मरण गराए। त्यस्तै, मुलुकी अपराध संहिता ०७४ को दफा ३० मा संगठित कसुरमा काम गर्ने गराउनेलाई पनि कारबाहीको व्यवस्था रहेको सुनाए।
‘कम्पनी (गोरखा मिडिया)ले जुन ठगी गरेको छ, जनताको पैसा अपचलन गरेको छ। ग्यालेक्सी टिभीमा लगानी गरेको छ। त्यसका एमडी (तत्कालीन एमडी रवि लामिछाने) र अध्यक्ष (जिवी राई) कसरी दोषभन्दा बाहिर जान सक्छन्?,’ उनले प्रश्न गरे।
आमनेपाली नागरिकले खाइनखाइ सहकारीका बचत गरिएको पैसा अपचलन भएको भन्दै उनले संसदको ध्यानाकर्षण गराए। ‘सहकारी ठगीको सम्बन्धमा प्रधानमन्त्रीजीले निर्दाेषिताको प्रमाणपत्र बाँड्नुभयो । दोषी को हो होइन भनेर कानुनले ठहर गर्छ। अदालतले न्याय गर्छ । कसले अधिकार दियो निर्दाेष भएको प्रमाणपत्र दिने?,’ उनले भने।
गोरखा मिडियाका तत्कालीन अध्यक्ष राई र एमडी रवि लामिछानेले ठगी गरेको उल्लेख गर्दै उनले भने, ‘दोषी हुन् होइन अनुसन्धानपछि थाहा हुनेछ। अपराध गर्नेलाई अपराधी हो, होइन छानबिन गरियोस्। संसदीय समिति बनाइयोस्। निर्क्यौल निकालियोस्।’ नेपालपाना


