ओलीको आक्रमक प्रहार : हा–हु सरकारलाई देश छाडेर हामी विदेश भाग्छौं र?
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति पुनः आक्रामक शैलीमा टिप्पणी गरेका छन्। दशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ‘तोडफोड र आगजनीको उपज’ भन्दै गम्भीर आरोप लगाए।
ओलीले सिधा सवाल गरे- “सरकार पासपोर्ट रोक्न चाहन्छ रे! के हामी देश छाडेर विदेश भाग्ने हौं? यो हा–हु गरेको सरकारलाई देश सुम्पेर हामी भाग्छौं?” भन्दै उनले सरकारको निर्णय प्रक्रियामा विश्वासको संकट उत्पन्न भएको संकेत गरे। उनले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रिया अझै अपूर्ण रहँदा पनि सरकार शंकास्पद कार्यविधि अपनाइरहेको बताएका छन्।
ओलीले आफूले दिएको निर्देशन, कर्मचारी र सुरक्षाकर्मीहरूलाई दिएका आदेशहरू सबै रेकर्डमा रहेको दाबी गर्दै ती सबै सार्वजनिक गर्न सरकारलाई चुनौती दिए। “हामी पारदर्शी ढंगले काम गर्छौं, कुनै षड्यन्त्र गर्दैनौं,” भन्दै उनले आफूहरूको शासनकालका अभिलेख रेकर्डेड रहेको र त्यसलाई तुलना गर्न सरकारलाई आग्रह गरे।
भ्रष्टाचारका आरोपबारे पनि ओलीको भनाइ सशक्त थियो -“घूस खायो भनेर हल्ला गरेर केही हुँदैन, प्रमाण देऊ। अफवाह मात्र फैलाएर नेतृत्व बदनाम गरिन्छ।” उनले सरकार बनाउनेहरूले देशमा आतंकको वातावरण बनाएको आरोप समेत लगाए।
अन्तमा ओलीले देश निर्माणको जिम्मेवारी पुनः लिन आफूहरू तयार रहेको बताउँदै भने, “हामी फेरि पनि देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउनेछौं। सुशासन कायम गर्नेछौं।”
उनको यो सम्बोधन सत्तापक्षमाथिको कडा प्रहार मात्र नभई, आगामी राजनीतिक लडाइँको संकेत पनि मानिएको छ।



