आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली
काठमाडौं । जेन जी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेका केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
शनिबार नेकपा एमाले निकट युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रममा ओली सहभागी भएका हुन् ।
आन्दोलनको समयमा नेपाली सेनाको सुरक्षामा बसेका ओली केहिदिन अघि गुण्डुमा घर भाडामा लिएर सरेका थिए । उनले केही दिनदेखि एमालेका नेता कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।
भदौ २३ गते जेन जी पुस्ताका युवाहरूले भ्रष्टाचार न्युनीकरण गर्न माग गर्दै नातावाद, कृपावादको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका थिए । सो दिन प्रदर्शनकारी नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो ।
प्रहरीको दमनपछि भदौ २४ गते झन् उग्र भएका प्रदर्शनकारीले संसद् भवन जलाएपछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको हेलिकोप्टर चढेर भागेका थिए । उनी शिवपुरीस्थित सेनाको गणमा बसेका थिए ।
बाहिरी स्थिति अलि सामान्यपछि गणबाट गुण्डु सरेका ओली आज सार्वजनिक भएका हुन् । उक्त दुई दिने आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ ।
ओलीको राजीनामा पछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सेप्टेम्बर १२ मा अन्तरिम सरकार गठन भएको छ । नयाँ मन्त्रिपरिषद्ले दैनिक प्रशासनिक कामकाज हेर्ने र आगामी आम निर्वाचन गराउने जिम्मेवारी पाएको छ । निर्वाचन माघ २१ अर्थात् मार्च ५ का लागि तोकिएको छ ।नेपालभ्यु



