८ बैशाख २०८३, मंगलवार

सामाजिक सञ्जालमा ‘एरेस्ट केपी’ ट्रेन्ड चलाउँदै जेन–जी अगुवा

एसीपी संवाददाता

२० आश्विन २०८२, सोमबार २०:३३ मा प्रकाशित

जेन–जी अगुवाहरूले सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने भन्दै ‘एरेस्ट केपी’ ट्रेन्ड चलाएका छन्। सोमबार अधिकांश समूहका अगुवाहरूले जेन–जी प्रदर्शनकारीमाथि भएको दमनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई आरोपित गर्न पक्राउ गर्नुपर्ने भन्दै अभियान चलाएका हुन्।

अभियानको सुरुवात आफूलाई जेन–जी नेता दाबी गर्ने हामी नेपालका संस्थापक सुदन गुरुङले गरेका थिए। उनले सुरुमा फेसबुकमा राखेको पोस्टर तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तस्बिर राखेर पक्राउको माग गरिएको छ। पोस्टरमा दुवैजनालाई ‘हत्यारा’को ट्याग भिराइएको छ।

सुदनपछि अर्को जेन–जी समूहकी अगुवा रक्षा बमले पनि ओलीको पक्राउको माग गर्दै ‘एरेस्ट केपी ओली’को पोस्टर राखेकी छन्। पोस्टरको क्याप्सनमा उनले ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ’ भनेर लेखेकी छन्।

‘मधेस विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, सेप्टेम्बर ८ को आन्दोलनमा निहत्था कलिला विध्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ।  हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्,’ बमले अगाडि लेखेकी छन्।

उनीहरूबाहेक अन्य जेन–जी अगुवाहरू युजन राजभण्डारी, भावना राउतलगायतले पनि उक्त अभियानमा आवाज उठाइरहेका छन्। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x