म र परिवारमाथि ज्यानै लिने मनासायले आक्रमण भयो, प्रतिष्ठा गिराउन झुटो प्रचार गरियो: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते मुलुक जलेका बेला आफू र आफ्नो परिवारमाथि ज्यानै मार्ने मनसायले हमला गरिएको टिप्पणी गरेका छन्। मंगलबार कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे,’ देउवाले भने, ‘सुरक्षाकर्मीको घण्टौंको अथक प्रयाशपछि हामीलाई उद्धार गरिएको थियो।’
आफू र आफ्नो परिावारले भोगेको त्रासदीपूर्ण आक्रमण सबैले देखेको पनि उनले बताए। ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो,’ देउवाले भने।
‘तपाईँहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु,’ देउवाले अगाडि भने, ‘मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।’
घटनालाई सामान्य रूपमा आफू र आफ्नो परिवारमाथि भएको ठानिए पनि यो राजनीतिक दलका अनगिन्ती सदस्यमाथिको आक्रमण रहेको देउवाले टिप्पणी गर्दै उनले भने, ‘समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ।’
उनले बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट आफूलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यबाद ज्ञापन गरे। उनले भने, ‘साथै जीवनभर स्मरण गरिरहनेछु।’ नागरिकन्युज



