गैरकानुनी रूपमा आर्जन गरेको १० अर्ब रुपैयाँभन्दा बढी रकमको स्रोत अनुसन्धान शुरु
काठमाडौं । राजनीतिक दलका नेतासँग सम्बन्ध जाेडेर काम गर्दै गरेका बिचौलिया व्यवसायीका रूपमा परिचित व्यापारी दीपक भट्टले गैरकानुनी रूपमा आर्जन गरेको १० अर्ब रुपैयाँभन्दा बढी रकमको स्रोत अनुसन्धान हुने भएकाे छ । उनकाे उक्त रकम अनुसन्धान गरी जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सेनादेखि प्रहरीसम्मको हतियार आयातकर्ता, चिनियाँ, फ्रेन्च, स्वीसलगायतका विदेशी कम्पनीको नेपालस्थित एजेन्ट, सुरक्षण मुद्रणसम्बन्धी विदेशी ठेकेदारको नेपाली एजेन्टका रूपमा काम गरिरहेका भट्ट कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म सेटिङ मिलाएर ‘व्यावसायिक गुन्डागर्दी’मा संलग्न भएको अख्तियारको उजुरीमा उल्लेख छ । जेनजी विद्रोहपछि बनेको सरकारले राजनीतिक संरक्षणमा हुने भ्रष्टाचार र अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएलगत्तै अख्तियारमा उनीविरुद्ध उजुरी दर्ता भएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई बोधार्थ दिएर दर्ता भएको उजुरीमा ती निकायले चासो देखाएपछि अख्तियारले अनुसन्धान थालेको छ । आवश्यक परे पक्राउसम्म गर्ने तयारीका साथ अख्तियारले भट्टमाथि अनुसन्धान अघि बढाएपछि उनी पुनः दलका नेताहरूमार्फत अख्तियारका आयुक्तहरू मिलाउन लागेको अख्तियारकै स्रोतको दाबी छ । भट्टविरुद्ध जेनजी अलायन्स नामक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा उजुरी दिएको छ । विभिन्न दलका शीर्ष नेतासँग नजिक रहेर सत्ता गठबन्धनदेखि भट्टले सेटिङ र बिचौलियाका रूपमा आर्जन गरेको अवैध सम्पत्ति जफत गरेर तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै उनीमाथि छानबिन गरी कारबाही नगरिएसम्म युवाहरूले खोजेको परिवर्तन र रूपान्तरण असम्भव हुने उजुरीमा उल्लेख छ । ‘राजनीतिक र प्रशासनिक पहुँचको दुरुपयोग गर्दै दुई दशकदेखि नेपालको सुरक्षा क्षेत्र, जलस्रोत, वित्तीय र बिमा क्षेत्रदेखि सार्वजनिक प्रशासनसम्म सेटिङको जालो फैलाएर भट्टले हाइड्रोपावर, जीवन, निर्जीवन, पुनर्बिमा र लघु बिमा कम्पनीहरूको लाइसेन्स कब्जा गरेका छन्, साथै सरकारी नीति निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गर्दै करिब ३ सय नीतिगत निर्णयहरू आफ्नो प्रभावमा गराएका छन्,’ उजुरीमा उल्लेख छ । व्यवसायको अनुमति पाउन भट्ट समूहलाई रिझाउनुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीहरूले यसअघिका सरकारसँग पटकपटक गुनासो गरे पनि सुनुवाइ भएको छैन ।
५६ वटा कम्पनी प्रवर्धक रहेको प्रस्तावित स्टक एक्सचेन्जमा ती कम्पनीबाट करोडौं रकम उठाएका भट्ट अहिले रकम फिर्ता गर्नुपर्ने दबाबमा छन् । उनले ती कम्पनीबाट मात्र २ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले विवादास्पद व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा उन्मुक्ति दिएको खुलेको छ । भट्टको करोडौँको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । त्यतिखेर विभाग प्रधानमन्त्री कार्यालयकै मातहत थियो । तर, ओलीको दबाबपछि राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने पत्र लेखेर भट्टलाई जोगाइएको हो । हाल जेन–जी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाहीको माग गर्दै फेरि उजुरी दिएका छन् । ३० वैशाख ०८२ मा भट्टमाथि राष्ट्र बैंकबाटै कारबाही हुनुपर्ने देखिएको भन्दै अनुसन्धानको फाइल बन्द गरिएको थियो । उनीविरुद्ध अकाट्य प्रमाण भेटिए पनि विभागले ‘सम्बन्धित नियमनकारी निकायबाटै सोतर्फ कारबाही हुनुपर्ने देखियो’ भन्ने व्यहोराको पत्र लेखेर छानबिन टुंग्याएको थियो । त्यसयता राष्ट्र बैंक तथा कुनै पनि निकायले भट्टमाथि अनुसन्धान अघि बढाउन सकेका छैनन् । जबकि सम्पत्ति शुद्धीकरणको पत्रमा बैंकिङ कसुर मुद्दासमेत आकर्षित हुने उल्लेख छ । तर, राष्ट्र बैंकले यस विषयमा कारबाहीका लागि हालसम्म प्रहरीलाई पत्राचारसम्म गरेको छैन । दबाबकै कारण राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन तथा कारबाही प्रभावित हुँदै आएको हो । जबकि भट्ट र परिवारको खातामा पनि अस्वाभाविक र स्रोत नखुलेको कारोबार राष्ट्र बैंककै प्रारम्भिक छानबिनमा खुलेको थियो । भट्ट कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी अारजु देउवासँग नजिक छन् । कतिपयमा उनीहरूकाे संयुक्त लगानीकाे चर्चासमेत हुने गरेकाे छ । जेनजी अलायन्सले राज्यको सबै संरचना निकायमा सेटिङमार्फत नीतिगत भ्रष्टाचार गरेर मुलुकलाई नै यो अवस्थामा ल्याउने प्रमुख पात्र भट्ट भएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘दीपक भट्ट र उनको समूहले नेपालमा यस्तो भ्रष्टाचार, सेटिङ र नीतिगत लुटपाटको चक्रव्यूह चलाएका छन्, जसका तथ्यहरू पढ्दा कहालीलाग्दो छ । नेपालमा सुरक्षा निकायको बन्दोबस्तीका सामग्री र हातहतियार आपूर्तिमा सेटिङ, जलस्रोत क्षेत्रमा सेटिङ, विमान तथा वित्तीय क्षेत्रमा सेटिङको बलमा सरकार निर्माण, पार्टी एकता र विभाजनमा उनको हात हुने गरेको छ ।’ उनकै सेटिङमा यअसघिको केपी ओली सरकार बनेको पनि उजुरीमा उल्लेख छ । समाचारदैनिक


