१६ आश्विन २०८३, शुक्रबार

नेपाल–भारत एकीकृत जाँच चौकीको भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न

एसीपी संवाददाता

९ बैशाख २०८०, शनिबार १७:२० मा प्रकाशित

नेपालगञ्ज आईसीपी निर्माण कार्य ८६ प्रतिशत सम्पन्न भएको छ। भारत सरकारले बनाइदिँदै गरेको एकीकृत जाँच चौकीको भौतिक प्रगति ८६ प्रतिशत रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारत बीच चार सीमा नाकाहरू (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवै तर्फ समान रूपमा एकीकृत जाँच चौकी निर्माण गर्ने सहमति भएको थियो।
सन् २००५अगस्टमा भएको समझदारी अनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत जाँच चौकी निर्माणको काम २०७७ असोज २६ मा सुरु भएको हो।
समितिका कार्यकारी निर्देशक गजुरेल र भारतीय भूमि पत्तन प्राधिकरणका अध्यक्ष आदित्य मिश्रले बिहीबारको भेटमा दुवै तर्फका आईसीपीको प्रगति बारे छलफल गरे। जसअनुसार भारतीय पक्षले निर्माण कार्य ८६ प्रतिशत सकिएको जानकारी दियो।
आईसीपीको कुल क्षेत्रफल ४४.३६ हेक्टर रहेकामा पहिलो फेजमा १८.०५ हेक्टरमा संरचनाको विकास गरिएको छ। छलफलमा दुवै तर्फका एकिकृत जाँच चौकीमा भौतिक संरचना र सफ्टवेयर एकीकृत गर्ने सम्बन्धमा छलफल भएको गजुरेलले अन्नपूर्ण पोस्टलाई जानकारी दिए। उनीहरूबीच ड्राइपोर्ट र एकिकृत जाँच चौकी प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको थियो।
दुई पक्षले विरगञ्ज, भैरहवा, काँकडभिट्टा, विराटनगरमा दुवै देशको सीमामा भएका एकिकृत जाँच चौकी/बन्दरगाहमा व्यवसायीलाई सहज हुने गरी दुवै तर्फबाट सहजीकरण गर्ने विषयमा समेत छलफल पनि गरेका थिए।
एकीकृत जाँच चौकीमा नेपाल र भारत दुवैतर्फ समान किसिमको व्यापार सहजीकरण गर्ने भौतिक संरचना निर्माण हुने गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x