१२ भाद्र २०८३, शुक्रबार

नेपालको भूराजनीतिक विवादमा युथ कांग्रेसको चासो, लिपुलेक–कालापानीबारे छलफल

एसीपी संवाददाता

१३ भाद्र २०८२, शुक्रबार १८:३९ मा प्रकाशित

काठमाडौं । नेपालको भूराजनीतिक अवस्था र सीमा विवादका विषयमा यूथ काँग्रेस नेपालले एक महत्वपूर्ण संवाद कार्यक्रम सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई केन्द्रमा राखेर बिहीबार अनामनगरमा आयोजित कार्यक्रममा वक्ताहरूले राष्ट्रिय सार्वभौमिकताको प्रश्नलाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा प्रस्तुतकर्ता राजीव न्यौपानेले लिपुलेक–कालापानी विवादलाई सन् १९५० को दशकदेखि हालसम्मको ऐतिहासिक परिप्रेक्ष्यमा विश्लेषण गर्दै यो क्षेत्र नेपालका लागि मात्र नभई भारत र चीनका लागि पनि सैन्य तथा आर्थिक दृष्टिले महत्वपूर्ण रहेको बताए। उनले नेपाल आरोप–प्रत्यारोपमा मात्र सीमित नभई सक्रिय कूटनीतिक पहलद्वारा आफ्नो वास्तविक दाबीलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

पत्रकार तथा लेखक सुधीर शर्माले विवादको बहुआयामिक स्वरूपलाई प्रकाश पार्दै स्थानीय भूगोल, बासिन्दा र यसमा सरोकार राख्ने तीन देशको दृष्टिकोणलाई स्पष्ट पारे। त्यस्तै, पूर्वराजदूत विजयकान्त कर्णले नेपालले प्राविधिक, राजनीतिक र कूटनीतिक तीनै तहमा समान रूपमा प्रयास गर्नुपर्ने धारणा राखे। उनले “जहाँ कूटनीति आवश्यक हुन्छ, त्यहाँ नेपाल राजनीति गर्छ, अनि जहाँ राजनीति आवश्यक हुन्छ, त्यहाँ कूटनीति गर्छ,” भन्दै नेपालको प्रवृत्तिमा सुधार आवश्यक रहेको टिप्पणी गरे।

अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ इन्द्र अधिकारीले भारतले नेपालसँगको सीमा विवादलाई उपनिवेशवादबाट मुक्त दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए। उनले छिमेकीसँग हुने वार्तामा निरन्तरताको अभाव र गम्भीरताको कमीले समस्या समाधानमा बाधा पुगेको औँल्याए।

कार्यक्रमका सभापति याजस्वी राईले नेपालको कूटनीतिक सम्बन्ध र भूराजनीतिक विषयलाई फरक–फरक दृष्टिकोणबाट विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादलाई सरकार, राजनीतिक दल, नागरिक समाज तथा युवा पुस्ताले साझा मुद्दाका रूपमा लिएर राष्ट्रिय एकता र सहमतिको आधारमा समाधान खोज्नुपर्नेमा जोड दिए।

वक्ताहरूले नेपालको भू–अधिकार कुनै पनि हालतमा सम्झौता गर्न नसकिने निष्कर्ष प्रस्तुत गर्दै सरकारले स्पष्ट कूटनीतिक पहल गर्नुपर्ने, अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउनुपर्ने र सीमा सुरक्षा तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने राय व्यक्त गरे। कार्यक्रममा विद्यार्थी, युवा, बुद्धिजीवी वर्ग र सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x