नेपालगञ्जमा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मोत्सव विशेष कार्यक्रम
नुर मोहम्मद अन्सारी
नेपालगञ्ज । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका र यससँग संलग्न सम्पूर्ण गाउँपालिका तथा नगरपालिका क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिँदैछ।
जानकारीअनुसार भाद्र १९ गते राति मुस्लिम समुदायका श्रद्धालुहरूले घरघरमा जागेरा बस्दै इबादत गर्नेछन्। यस अवसरमा विशेष गरी नफ्ल नमाज, तहज्जुद, तस्बीह, कुरआन तिलावत लगायतका धार्मिक कार्य गरेर रातभर व्यस्त रहने जनाइएको छ।
सोही सिलसिलामा भाद्र २० गते शुक्रबार बिहान पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म सुभह सदिकमा भएको दिन सम्झँदै बिहान ८ बजेबाट नेपालगञ्ज क्षेत्रमै भव्य र शान्तिपूर्ण जलूसको आयोजना गरिनेछ। जलूस नेपालगञ्जका सम्पूर्ण वडाका मुस्लिम समुदायको सहभागितामा वार्ड प्रहरी, एम.पी. स्कूल, त्रिभुवन चौक हुँदै बीपी चौक, त्यसपछि धम्बोजी, र त्यहाँबाट सेतु बीके चौक हुँदै पुनः आफ्ना–आफ्ना वडामा फर्किने कार्यक्रम तय भएको छ।
यस वर्ष हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म भएको १५०० वर्ष पूरा भएको विशेष वर्ष हो। अल्लाहले उहाँलाई “रहमतुल्लिल आलमीन” (समस्त सृष्टिका लागि रहमत) बनाएर संसारमा पठाउनुभएको हो।
इतिहास अनुसार पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको आगमन त्यतिबेला भएको हो जब संसार विभिन्न अन्धकार र अन्यायमा डुबिरहेको थियो। अरब सभ्यतामा छोरी जन्मिएर आएमा जीवितै गाड्ने प्रथा थियो। अफ्रिकी समाजमा महिलालाई शैतानको स्वरूप ठानिन्थ्यो। भारतीय सभ्यतामा छुवाछूतको कडा विभेद थियो भने नेपालमा पति मृत्युपछि पत्नीलाई समेत जिउँदै जलाउने सती प्रथा प्रचलित थियो।
त्यस्तो कठोर समयमा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले छोरीलाई सम्मान गर्ने, महिलालाई अधिकार दिने, दासप्रथा उन्मूलन गर्ने, समानता र न्यायको सन्देश फैलाउनुभयो। उहाँले आफ्नी छोरी सय्यदा फातिमा अलैहास्सलामलाई काँधमा बोकेर हिँड्ने उदहारण देखाउँदै समाजमा महिलाको स्थान र सम्मान स्थापित गर्नुभयो।
आज उहाँको शिक्षाबाट विश्वले मानवअधिकार, न्याय, समानता, करुणा र आपसी भाईचारा पाएको छ। यही कारण मुस्लिम समुदायले मात्र नभई सम्पूर्ण मानवजातिले उहाँलाई शान्ति र मानवताको प्रतीकका रूपमा सम्झिन्छन्।


