१२ भाद्र २०८३, शुक्रबार

नेपाली नागरिकलाई रोक्न भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका नभएको स्पष्ट

एसीपी संवाददाता

१८ कार्तिक २०८२, सोमबार ०१:०५ मा प्रकाशित

भारतले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नागरिकलाई यात्रा गर्न नदिएको घटनामा स्पष्टीकरण दिएको छ। गृह मन्त्रालयले एक बयान जारी गर्दै भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका नभएको स्पष्ट पारेको छ। शाम्भवी अधिकारीलाई फिर्ता पठाउने निर्णय अन्तर्राष्ट्रिय एयरलाइन्सले भिसा वैधता हेरेर गरिएको उल्लेख गरेको छ।

गृह मन्त्रालयको विज्ञप्तिमा घटनालाई ‘नेपाली नागरिकविरुद्धको पूर्वाग्रही भेदभाव’ को रूपमा गलत चित्रण गरिएको उल्लेख छ। यात्रु रोक्ने काम भिसा वैधता र यात्रा कागजातका आधारमा एयरलाइन्सले मात्र गरेको उल्लेख छ। अधिकारीले पछि यात्रा मिति परिवर्तन गरी काठमाडौंबाट अर्को बाटो हुँदै बर्लिन पुगेकी थिइन्।

‘बर्लिन जाँदै गरेकी नेपाली नागरिक शाम्भवी अधिकारीलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेर काठमाडौं फिर्ता पठाइएको रिपोर्ट आएको छ। यो घटनालाई नेपाली नागरिकविरुद्धको पूर्वाग्रह/भेदभावको रूपमा गलत रूपमा चित्रण गरिएको छ,’ गृहमन्त्रायले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘यो सम्पूर्ण घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। उक्त यात्रु एयर इन्डियाबाट काठमाडौँबाट आइपुगेकी थिइन् र दिल्ली हुँदै ट्रान्जिटमा थिइन्। कतार एयरवेजको कनेक्टिङ उडानमा चढ्ने क्रममा उनलाई रोकिएको थियो। भिसा वैधतालाई ध्यानमा राख्दै एयरलाइन्सले उनलाई जर्मनीको अगाडिको यात्रा गर्न नदिने निर्णय गरेर काठमाडौँ फिर्ता पठाए। यो सामान्यतया गन्तव्य देशको नियम/आवश्यकताहरू अनुसार गरिन्छ,’ विज्ञप्तिमा थपिएको छ।

अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुले भारतीय अध्यागमनमा सम्पर्क गर्नु नपर्ने भन्दै यो एयरलाइन्स तथा यात्रुबिचको विषय भएको मन्त्रालयले जनाएको छ। ‘भारतले नेपालसँगको आफ्नो बलियो सम्बन्धलाई महत्त्व दिन्छ र कुनै पनि भारतीय अधिकारीले नेपालका नागरिकहरू विरुद्ध कुनै पूर्वाग्रह वा भेदभाव नगर्ने कुरामा विश्वस्त पार्छ,’ गृह मन्त्रालयले भनेको छ।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x