चिनियाँ जहाज उडाउने सपना नेपाली , जनताको ८ अर्ब डुबायो सरकारले
जहाजका कारण देशलाई झन्डै ८ अर्ब रुपैयाँ घाटा पुगिसकेपछि ?

नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज भाडामा नगए बिक्री गर्ने बाटो खुला भएको छ । अर्थ मन्त्रालयले चिनियाँ जहाजका लागि दुई विकल्पमा काम गर्न राय प्रदान गरेको छ । अर्थले सर्वप्रथम यी जहाज भाडामा लगाउन सुझाव दिएको छ । त्यसरी भाडामा लगाउँदा भाडामा नगएको अवस्थामा भने जहाज बिक्री गर्न सकिने राय अर्थ मन्त्रालयले दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अर्थले दुई विकल्पसहित स्पष्ट भनेको छ, भाडामा गएनन् भने बिक्री गर्न सकिन्छ ।’
चिनियाँ जहाज धान्न नसकिने भन्दै फिर्ता पठाउने तयारी,अरु ठेक्का नि अलपत्र
यसअघि नेपाल एयरलाइन्सले गत साउन १६ बाट ६ वटै जहाज सञ्चालन नगर्ने निर्णय गरी आफ्नो विभागीय मन्त्रालय पर्यटनलाई पत्र लेखेको थियो । निगमले आफूले जहाज नचलाउने भन्दै व्यवस्थापन गर्न सरकारको जिम्मा लगाएको थियो । यी जहाजको स्वामित्व समेत नेपाल सरकारसँग नै रहेको छ । नेपाल वायुसेवा निगमले सञ्चालन तथा व्यवस्थापनबाट हात झिकेसँगै चिनियाँ जहाजको व्यवस्थापनमा के गर्ने भन्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयको राय मागेको थियो ।
त्यसबेला अर्थले विकल्पसमेत दिन आग्रह गर्दै पत्र फिर्ता गरेको थियो । त्यसपछि निगमले जहाज व्यवस्थापनका विकल्पसहित पुनः विभागीय मन्त्रालय हुँदै अर्थसँग राय मागेको थियो । चिनियाँ जहाज नचलाउने निगमको निर्णयमा पर्यटन मन्त्रालय भने यसअघि नै सहमत छ ।
नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाजमध्ये ५ वटा जहाज मात्र उडानयोग्य अवस्थामा छन् । दुई वटा एमए ६० र चार वटा वाई १२ ई जहाजमध्ये एउटा वाई १२ ई भने उड्न नसक्ने गरी ग्राउन्डेड भइसकेको छ । साना जहाज पहाडी र हिमाली दूर्गम भेगका जनतालाई सेवा दिने उद्देश्यले भित्र्याइएको थियो । तर सोही जहाजका कारण देशलाई झन्डै ८ अर्ब रुपैयाँ घाटा पुगिसकेपछि नेपाल एयरलाइन्सले यी जहाज नचलाउने निर्णय लिएको हो ।
साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरिसकेको छ । यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै नेपाल एयरलाइन्स व्यवस्थापनले चिनियाँ जहाज विस्थापनको निर्णय लिएको हो ।
सुगममा ५६ सिट क्षमताका ‘एमए ६०’ र दूर्गममा १७ सिट क्षमताका ‘वाई१२ई’ उपयुक्त रहेको निष्कर्षसहित भित्र्यााइएका चिनियाँ जहाजलाई अब भने विस्थापन गर्ने बाटो खुलेको हो । यी जहाज चीनको एभिक इन्टरनेसनलले बनाएको हो । नेपाल सरकार र एभिक इन्टरनेसनलबीच २०६८ मंसिरमा जहाज खरिदसम्बन्धमा सम्झौता भएको थियो । यी जहाजमध्ये पहिलो जहाज ५६ सिट क्षमताको ‘एमए ६०’ १४ वैशाख २०७१ मा काठमाडौं अवतरण गरेको थियो ।
कुन जहाज कहिले आयो ?
| जहाज | कलसाइन | प्राप्ति मिति |
| एमए६० अनुदान | ९एन–एकेक्यू | १४ वैशाख २०७१ |
| वाई१२ई अनुदान | ९एन–एकेएस | १८ कात्तिक २०७१ |
| एमए६० ऋण | ९एन–एकेआर | ४ माघ २०७३ |
| वाई१२ई ऋण | ९एन–एकेटी | १९ माघ २०७३ |
| वाई१२ई ऋण | ९एन–एकेयू | १ फागुन २०७४ |
| वाई१२ई ऋण | ९एन–एकेभी | १ फागुन २०७४ |
नेपाल एयरलाइन्स सञ्चालक समितिले निम्न कारण देखाउँदै चिनियाँ जहाज नचलाउने निर्णय लिएको थियो ।
- चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको तुलनामा ३५ प्रतिशत बढी रहेको ।
- चिनियाँ जहाज चलाउने पाइलट नहुने हुनाले आफैंले उत्पादन गर्नु परेको, जुन एयर अन्तर्राष्ट्रिय उडानमा रहेको ए३२० जहाजका पाइलट उत्पादनभन्दा महंगो पर्ने ।
- यी जहाजको स्पेयर्स पार्ट्ससमेत समान क्षमताका अन्य जहाजको तुलनामा ७५ प्रतिशत महंगो पर्ने ।
- कतिपय अवस्थामा स्पेयर्स पाट्स अर्डर गरेको २ महिनासम्म पनि सामान नआएर जहाज ग्राउन्डेड भएको ।
- दुवै मोडलका जहाजमा प्रशिक्षक पाइलटको अभाव रहेको, चिनियाँ जहाजमा प्रशिक्षक पाइलट उत्पादन गर्न सोही क्षमताका अन्य जहाजको तुलनामा ४ गुणा महंगो पर्ने ।
- एमए ६० जहाजको सिमुलेटर तालीम खर्च अन्य जहाजको तुलनामा ७८ प्रतिशत महंगो र टाइप रेटिङ तालिम ३० प्रतिशत महंगो परेको ।
- एमए६० को इन्धन खर्च सोही क्षमताको अन्य जहाजको तुलनामा दोब्बर र वाई१२ को इन्धन खर्च ५० प्रतिशतभन्दा बढी रहेको ।
- तोकिएको रुटमा यी जहाज चलाउँदा २५ देखि ६७ प्रतिशतसम्म पेलोड प्रतिवन्ध पर्दा कुनै बेला तोकिएको क्षमताभन्दा निकै कम यात्रु मात्र बोकेर उडाउनु पर्ने बाध्यता ।अनलाइनखबर


