अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा
अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।
प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाए अनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।
बुधवार स्थानीय समयमा विश्व बैङ्क र आईएमएफद्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गरेका हुन् । साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाको लागि आज २०० मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ ।


