जेनजी आन्दोलनका अगुवा युवा ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा
जेनजी आन्दोलनका अगुवा युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत नयाँ दलको औपचारिक घोषणा गर्ने तयारी गरेका हुन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत जारी एक भिडियो सन्देशमा पार्टी गठनको औपचारिक तयारी पूरा भएको जनाउँदै ‘पार्टी गठन वार्ता समिति’ गठन गरिएको जानकारी दिएका छन्। उनले भने, “देश गम्भीर अवस्थामा पुगेको छ, अब नयाँ सोच र नयाँ नेतृत्व आवश्यक छ। त्यसैले हामी नयाँ दल खोल्ने निष्कर्षमा पुगेका छौं।”
उनका अनुसार नयाँ पार्टीको मुख्य एजेन्डामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार, र प्रशासनिक सुधारमार्फत सक्षम शासन प्रणाली निर्माण गर्ने लक्ष्य समावेश गरिएको छ।
ढुंगाना जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा चर्चामा आएका युवामध्ये एक हुन्। उनले आन्दोलनका क्रममा युवाहरूले देखाएको राजनीतिक चेतना र जनदबाबलाई संस्थागत रूप दिने उद्देश्यसहित नयाँ दल गठन गरिएको बताएका छन्। भोलिको पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम, नारा र नीतिगत दिशानिर्देश सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ। हिमालपत्रीका


