भारतबाट पुनः नेपालको लागि कोरोना विरुद्धको २२ लाख डोज खोप कोभिशिल्ड आउने
विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधाअन्तर्गत नेपालले पहिलो चरणमा फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउने भएको छ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधाअन्तर्गत आउनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले फागुन पहिलो साताभित्र ‘कोभ्याक्स’ सुविधाअन्तर्गत खोप आउने निश्चित भएको बताए । ‘कोभ्याक्स’ले खोप उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मिलेर ‘कोभ्याक्स’ सुविधा गठन भएको हो । महामारी नियन्त्रण गर्न खोपको विकल्प नभएको, तर सुरुमा धनी देशहरूले मात्रै पाउने अवस्था देखिएपछि दुई संगठनले विपन्न देशहरूलाई सहज रूपले २० प्रतिशत नागरिकलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
पहिलो चरणमा खाउने खोप तीन प्रतिशत अर्थात् नौ लाख ११ हजारभन्दा बढी नागरिकलाई पुग्नेछ । कोभ्याक्सले झन्डै १७ प्रतिशत नागरिकलाई पुग्ने खोप यसपछि चरण–चरणमा दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएपछि चार लाख ३० हजार नागरिकलाई दिने गरी अभियान चलिरहेको छ । महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहनचालक, सीमा र विमानस्थलका कर्मचारी तथा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइँदै छ । १४ माघबाट थालिएको अभियानमा अहिलेसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले खोप लगाएका छन् ।
एकजनालाई दुई डोज खोप आवश्यक पर्छ । त्यस हिसाबले भारतबाट अनुदानमा आएका खोप पाँच लाख नागरिकलाई पुग्ने हुन्थ्यो । तर, १० देखि १५ प्रतिशतसम्म खेर जाने भएकाले तीन लाख ५० हजार नागरिकलाई मात्र पुग्छ । तर, सरकारले खोप खेर जान नदिएर चार लाख ३० हजारलाई लगाउने योजना बनाएको छ ।
‘कोभ्याक्स’ सुविधाअन्तर्गत आएका खोप पनि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकासहित तीन प्रतिशत नागरिकलाई लगाउने सरकारको योजना छ । फ्रन्टलाइनरबाहेक ज्येष्ठ नागरिक, अन्य दीर्घरोगी, प्रवासी कामदारलाई प्राथमिकतामा राखेर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले जम्मा ७२ प्रतिशत अर्थात् दुई करोड १६ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । कोभ्याक्स सुविधाबाट प्राप्त हुने २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने तथा मित्रराष्ट्रहरूबाट अनुदानमा पाउने खोपले पनि नपुगेका नागरिकलाई खरिद गरेर लगाउने सरकारको योजना छ । तर, सरकारले अहिलेसम्म खरिद प्रक्रिया अगाडि बढाएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सरकार आफूले किनेरभन्दा पनि मागेर नै काम चलाउने मनस्थितिमा छ । नयाँ पत्रिकामार्फत तस्बिर सहित


