११ भाद्र २०८३, बिहीबार

सरकारका सबै संयन्त्रहरुमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउँछौं : प्रवक्ता खरेल

एसीपी संवाददाता

२५ आश्विन २०८२, शनिबार ११:५२ मा प्रकाशित

काठमाडौं  । सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारका सबै संयन्त्रहरुमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने बताएका छन् ।

आन्दोलनको मर्म, भावना र उनीहरुका माग समेतलाई सम्बोधन गर्न राज्यका सबै संयन्त्रमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने उनको भनाइ छ । त्यसका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको र जेनजी युवा प्रतिनिधिहरुसँग छलफल पनि गर्दै आएको मन्त्री खरेलले जानकारी दिए ।

अनलाइनखरसँग कुरा गर्दै मन्त्री खरेलले भने, ‘राज्यका सबै संयन्त्रहरुमा संविधानले, कानुनले, नियमले र व्यवहारले मिल्ने गरी जेनजीहरुको आवाज तथा मागको प्रतिनिधित्व गराउन सरकार क्रियाशील छ । त्यसका लागि जेनजी युवाका प्रतिनिधिहरुसँग छलफल पनि भइरहेको छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बेलुकाको सम्बोधनमा ‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्रहरु स्थापना गर्ने’ बताएकी थिइन् ।

सरकारका प्रवक्ता खरेलले प्रधानमन्त्रीको भनाइलाई प्रष्ट्याउँदै भने, ‘राज्यका महत्वपूर्ण संयन्त्रहरुमा जेनजीहरुको अर्थपूर्ण प्रतिनिधित्व र सहभागिताको कुरा गरिएको हो ।’

भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि जेनजी युवा अगुवाहरुको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । तत्काललाई भने उनी जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।

‘हामीले यो सन्दर्भमा जेनजीहरुसँग पनि विभिन्न चरणमा छलफल पनि गरेका छौं, वार्ता पनि गरिरहेका छौं,’ खरेलले भने, ‘कसरी, कुन रुपमा, कहाँ–कहाँ, के–के कुरामा उहाँहरुको सहभागिता हुनसक्छ, कसरी सहभागिता हुनसक्छ, उहाँहरु आफैं पनि सहभागी हुनसक्नु हुन्छ अथवा उहाँहरुको माग वा आवाजले कसरी प्रतिनिधित्व पाउँछ भन्ने कुरामा अहिले छलफल भइरहेको छ ।’

युवाहरुले सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरा मुख्य रुपमा जसरी उठाइरहेकाले त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले गम्भिर रुपले तयारी गरिरहेको पनि मन्त्री खरेलले बताए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x