बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने सरकारको निर्णयप्रती जग्गा धनीहरुको आन्दोलन
बाँके जिल्लाको जानकी ३ मा रहेको ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी हुँदा जग्गा धनीहरु आन्दोलनमा उत्रिएका हुन्
नेपालगन्ज ।बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने सरकारको निर्णयप्रती जग्गा धनीहरुले आन्दोलन सुरु गरेका छन् । बाँके जिल्लाको जानकी ३ मा रहेको ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी हुँदा जग्गा धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि सो जग्गाका धनीहरुले बुधबारबाट नेपालगञ्जमा आन्दोलन शुरु गरेका हुन । उनीहरुले आन्दोलनस्वरुप बुधबार जग्गा भएको क्षेत्र करमोहना र इन्द्रपुर गाउँबाट बिरोध ¥यालीसहित नेपालगञ्जको बीपी चोक सम्म प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले हचुवाका भरमा भोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्य तथ्य जाँचबुझ गरेर मात्र निर्णय गर्न आग्रह गरेका छन् । एक शताब्देखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो, जग्गा धनीमध्येका एक आन्दोलनकर्ता दिपक शाहले भन्नुभयो, हामीले यत्रो वर्षदेखि निरन्तर तिरो तिरिरहँदा अहिले आएर सरकारले कसरी हाम्रो जग्गा अरुको नाममा गर्न पाउँछ । सरकारले गरेको गलत निर्णय फिर्ता लिनुपर्छ शाहले भन्नुभयो नत्र हामी आन्दोलन गर्न बाध्य हुँन्छौं । हामीले खरिद गरेर वर्षौदेखि उपभोग गर्दै लालपुर्जा भएको जग्गाको सत्यतथ्य छानबीन हुनुपर्ने अब्दुल रसिद वागवानले माग गर्नुभयो । जग्गा धनीहरुसंग भएको पुरानो कागजपत्र अध्ययन गर्न सरकारलाई आन्दोलनकर्ताले अनुरोध गरेका छन् । हामी कुनै अपराधी हौइनौ, भूमाफिया पनि हौइनौं आन्दोलनकर्ताको प्रश्न थियो, कसरी हामी भुमाफिया भयौं । स्थानीय तुलाराम कुर्मीले १९३३ सालदेखि जग्गाको तिरो तिरिरहेको बताउनुभयो ।यो निर्णयले हामी जग्गाधनीहरु मारमा पर्ने भयौं उहाँले भन्नुभयो हामी सरकारप्रति लज्जास्पद छौं, वास्तविकता छानबीन गरेर मात्र सरकारले निर्णय गर्नुपर्छ । नेपालगञ्जको बीपी चोकमा १५ मिनेटसम्म जक्काजाम गरेका जग्गाधनीहरुले दैनिक आन्दोलन गर्ने बताएका छन् । उनीहरुले मालपोतमा धर्ना, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेसम्मको कार्यक्रम रहेको बताएका छन् । गुठी जग्गा संरक्षण सम्बन्धि आयोगले व्यक्तिको नाममा रहेको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने सुझाव पेश गरेको छ ।