सहिद स्मारक ‘ए’ डिभिजन लिग
काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सन्तोष साहुखल १ सयौं गोलको कोसेढुंगा पूरा गर्ने प्रतीक्षामा छन् । तर, उनी पछिल्ला दुई खेलमा च्यासलको हारसँगै गोल गर्न पनि चुकेका छन् र शतक पूरा गर्न सकेका छैनन् ।
ब्रिगेड ब्वाइज क्लबले भने ए डिभजिन लिगमा १ सयौं खेल खेल्यो र हिमालयन शेर्पाविरुद्ध ३ अंक जोड्दै यो ऐतिहासिक क्षणलाई सुखद बनायो ।
सन्तोष ९९ गोलमै अड्किएच्यासलका फरवार्ड सन्तोष साहुखलले सुरुका दुई खेलमा तीन गोल गरेका थिए । त्यसैले उनी एनआरटीविरुद्धको खेलबाटै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने अपेक्षा गरिएको थियो । तर, उनी दशरथ रंगशालामा दुई अवसरमा गोल गर्न चुके । च्यासल पनि हार्यो । उनी ९९ गोलमै अड्किए ।
ललितपुरकै अर्को क्लब थ्रीस्टारबाट १६ वर्षअघि ए डिभिजन लिगको यात्रा थालेका सन्तोषले गोलको शतक पूरा गर्ने अर्को मौका एन्फा कम्प्लेक्समा मंगलबार पाएका थिए । तर, उनी जावलाखेलविरुद्ध गोल गर्न चुके । दोस्रो हाफमा पाएको अवसरमा ‘सेकेन्ड बार’ च्याप्दै उनले प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरियो । कमजोर मानिएको जावलाखेलले जुझारु खेल देखायो । रूपबहादुर लामाले ८१ र विजय घलानले ८३ औं मिनेटमा गोल गरेपछि जावलाखेललाई च्यासललाई २–० ले स्तब्ध पार्यो । सन्तोष फेरि ९९ गोलमै रोकिए । अब उनले सय गोलको कोसेढुंगाका लागि पुलिसविरुद्ध २१ पुसमा हुने खेलको कुर्नुपर्नेछ ।
सन्तोष १ सयौं गोलको दबाबबाट गुज्रिएको त होइन ? च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘१ सय गोलको कुरा ड्रेसिङ रुममा हुँदैन । तर, सन्तोषलाई धेरै जिम्मेवारी छ । बक्स (पेनाल्टी क्षेत्र) मा कमै बल खसेको छ । उनमा कप्तानीसँगै १ सय गोलको दबाब देखिरहेको छु ।’ पहिलोपल्ट ए डिभिजन क्लब सम्हाल्ने अवसर पाएका उनी सन्तोषका दाइ पनि हुन् ।
चार वर्षयता बढी समय जापानमै बिताइरहेका सन्तोषको १ सयौं गोल यो लिगमा बहुप्रतीक्षित बनेको छ, जुन ऐतिहासिक उपलब्धि पनि हुनेछ । समर्थकले त्यो उपलब्धि पर्खिरहेका छन् भने त्यसकै दबाबबाट पूरा टिम नै गुज्रिएको हो कि भन्ने च्यासलको पछिल्ला दुई हारले शंका गर्ने ठाउँ दिएको छ । तर, सन्तोष आफै भने १ सय गोलको दबाब नभएको बताउँछन् । ‘मलाई त्यस्तो दबाब महसुस भएको छैन,’ ३४वर्षीय सन्तोषले भने, ‘मैदानमा प्रवेशगरेपछि टिमलाई कसरी जिताउने भन्नेमै ध्यान केन्द्रित हुन्छ, अरू कुरामा ख्याल हुँदैन । मेरो चाहना पनि टिमलाई कसरी जिताउने भन्ने नै हो ।’
राष्ट्रिय टिमका सुनील बल, हेमन्त थापामगर, एलन नेउपानेसहित दुई जापानी खेलाडीलाई मैदानमा उतारेको च्यासलको खेल पछिल्ला दुई खेलमा खस्किएको छ । सुरुमा छरिता देखिएका उसका खेलाडीहरू मैदानमा अल्छी देखिन थालेका छन् । यसबारे प्रशिक्षक बालगोपालले भने, ‘विपक्षीले हरेक बलमा दबाब दिइरहेको छ ।
हाम्रा खेलाडी अल्छी र प्रयास नै नगर्ने देखिएका छन् । खेलाडीलाई परामर्श चाहिएजस्तो देखियो । लय भंग भएपछि गाह्रो हुन्छ, फेरि लयमा फर्किने प्रयास गर्नेछौं ।’ शारीरिक रूपमा बलिया अफ्रिकी खेलाडीहरूले आफ्नो टिमलाई दबाबमा पारेको उल्लेख गर्दै उनले भने, ‘जावलाखेल जितको लागि योग्य थियो ।’ जावलाखेलको पूरै टिम मिहिनेती देखियो । उसले अरू केही गोलका सहज अवसर पनि पाएको थियो । पहिलो खेलमा गत वर्षको उपविजेता संकटालाई २–० ले हराएपछि बलियो मानिएको मछिन्द्रविरुद्ध १–१ खेलेको च्यासल एनआरटीविरुद्ध २–१ र जावलाखेलविरुद्ध २–० ले हार्यो । यसलेलिग च्याम्पियन बन्ने उसको लक्ष्यमा ठूलो धक्का लाग्यो ।
जावलाखेल २ जित र २ बराबरीसहित ८ अंक बनाएर तेस्रो स्थानमा उक्लियो । ‘यति सोचेको थिएन । हरेक दिन राम्रो भइरहेको छ । धेरै माथि नसोचौं, अब शीर्ष ६ मा रहने आशा छ,’ जावलाखेलका प्रशिक्षक नरेश थापलो भने । एक–एक कम खेलेका थ्रीस्टार (७) र आर्मी (६) बीच बुधबार प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन मनाङ–मर्स्याङदी (१०) शीर्षस्थानमा छ भने गत वर्ष पुछारबाट दोस्रोमा रहेकाले १ अंक घटुवामा परेको मछिन्द्र (९) दोस्रोमा छ ।
सुखद सयौं खेल
ब्रिगेड ब्वाइजले हिमालयन शेर्पालाई १–० ले हराएर मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय औं खेललाई सुखद बनाएको छ । एन्फा कम्पलेक्समा विजय गुरुङले १७ औं मिनेटमा गरेको गोलले ब्रिगेड ब्वाइजको सयौं खेललाई सुखद बनाएको हो ।
लिगमा आफ्नो एक सय खेल खेलिरहेको बीबीसीका कप्तान अनिल गुरुङ र खड्गप्रसाद थापालाई खेलअघि शुभकामना दिँदै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा (दायाँ)। तस्बिर : केशव थापा/कान्तिपुर
‘१ सय खेल इतिहासमा जाने हो । स्मरणीय बनाउनुपर्छ भनेर खेलाडी तयार थिए । आशा थियो । सफल भयौं,’ ब्रिगेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पुनले भने । उनको टिम चार खेलमा २ जित र २ हारसँगै ६ अंकसहित छैटौं स्थानमा उक्लियो । हिमालयन शेर्पा जितविहीन (२ बराबर, २ हार) रूपमा ११ औं स्स्थनमा रहेको छ ।
बेलायतको ‘गोर्खाली सेना’ सँग भावनात्मक सम्बन्ध जोडिएको मानभवनको क्लब ब्रिगेड ब्वाइजले पहिलोपल्ट ए डिभिजन लिग २०६१ सालमा खेलको थियो । ३२ वर्षअघि स्थापित यो क्लब तीन सिजनमात्रै माथिल्लो श्रेणीमा टिक्यो । २०६३ सालको लिगमा पुछारमा रहँदै सरस्वती क्लबसँगै रलिगेसनमा पर्यो । बी डिभिजनबाट फेरि उक्लियो । तर, फर्किएको पहिलो लिग २०६८ मै स्वयम्भू, युनाइटेड र कोइलापानी पोलस्टारसँगै ब्रिगेड ब्वाइज रेलिगेसनमा पर्यो । फेरि फर्कियो र गत वर्ष रेलिगेसन बिनाको लिगमा १२ औंमा रह्यो ।
ब्रिगेड ब्वाइजलाई विशेषतः २०६२ सालको लिगका लागि सम्झिइने गरिन्छ । त्यो लिगमा नाइजेरियाली फरवार्ड ओबाग बेमिरो जुनियरको उत्कृष्ट प्रदर्शनसँगै ब्रिगेड ब्वाइज १० जित, २ बराबर र १६ हारसँगै नवौं भएको थयो । यसपालि मनाङ, थ्रीस्टारलगायत ठूला क्लबहरूबाट खेलिसकेका फरवार्ड अनिल गुरुङ, विंगर विजय गुरुङ र उत्तम गुरुङलाई भित्र्याएर ब्रिगेड ब्वाइज लिगका लागि तयार भएको हो । ब्रिगेड ब्वाइजको पहिलो ए डिभिजिन लिगबाटै अनिलले करिअर सुरु गरेका थिए ।
‘जुनियर खेलाडी गत वर्षको यू–१८ प्रतियोगिताबाटै यो लिगलाई तयार गरिरहेका थियौं । सिनियर तीन खेलाडीलाई समेटेर राम्रो टिम बनाउने प्रयास गरेका छौं,’ ब्रिगेड ब्वाइजका कार्यवाहक अध्यक्ष लाल कुमार पुनले भने, ‘यसपालि राम्रो सुरुआत गरेको छ । हामी सहयोगका भरमा चलेको क्लब हो । यसपालि रेगिसन टार्ने लक्ष्य हो । अर्को सिजन राम्रो तयारी गरेर बलियो टिम बनाउनेछौं ।’ यो लिगमा सहभागी १४ क्लबमध्ये अब सरस्वती, हिमालयन शेर्पा र च्यासलले मात्रै ए डिभिजनमा १ सय खेल छुन बाँकी छ ।



