२३ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावलको चर्को आलोचना

एसीपी संवाददाता

१८ पुष २०७७, शनिबार १०:४८ मा प्रकाशित

नेकपा विभाजनपछि पूर्वमाओवादी खेमातिर लागेका सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावलको चर्को आलोचना भएको छ ।

नेकपाभित्र केपी ओली समूहका सुदूरपश्चिमका नेताहरुले रावललाई धुलो चटाएर सुपबाट लखेट्ने चेतावनी समेत दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा


ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले राखेको कार्यकर्ता भेलामा ओली समूहका सुदूरपश्चिमका नेताले प्रधानमन्त्री ओलीकै उपस्थितिमा रावलको बाउ विहे देखिनेगरी कडा आलोचना गरे । आफ्नो भडास पोख्दै रावललाई सुदूरपश्चिमबाट विस्थापित गर्ने उद्घोषसम्म गरे ।

केन्द्रीय सदस्य कृष्णप्रसाद जैसीले रावलको उछितो काटे । रावललाई एमसीसी विरोध गरेकोमा पढ्न नजान्ने डिग्री होल्डर भनेर आलोचना गरे । हामीले नै राजनीतिमा ल्याएको डाक्टर भीम रावल पछि हामीभन्दा ठूला भए मन्त्री भएपछि सुदूरपश्चिममा एकलौटी गरेको उनले आरोप लगाए । रावलको सम्पूर्ण धरातल बताउँदै उनले अब सक्किने बेला आएको दावी गरे ।

अर्का केन्द्रीय सदस्य बाजुराका सहदेव बोगटीले पनि रावलको आलोचना गरे । उनले लेखराज भट्टसँग मान्छे छैनन् भनेर प्रचार नगर्न रावललाई चेतावनी दिए ।

नवनियुक्त वनमन्त्री प्रेम आलेले त तुच्छ शब्दसहित रावलमाथि भडास पोखे। आफूबारे रावलले ‘तस्करको हातमा चाबी’ भनेर गरेको टिप्पणीको कडा प्रतिवाद गरे । ‘२०५४ सालमा यस्तै खालको जंगल फडानी बुडर (डोटी) मा भयो। मैले विरोध गर्दा उल्टै मलाई मुद्दा लगाइयो। जिल्ला अदालतबाट १ वर्षमा सफाइ पाएँ । पुनरावदेनमा पुग्यो। त्यहाँबाट पनि सफाइ पाएँ ।

अहिलेसम्म कुनै मुद्दा छैन । मेरो आफ्नो स:मिल छैन। म कसरी तस्कर भए?’ उनले प्रश्न गरे । आलेले रावलमाथि पदका लागि सुदूरपश्चिमलाई प्रयोग गरेको आरोप लगाए । ‘डाक्टर भीम रावल, तपाईंले सुपलाई गिरबन्दीु गरेर, गिरबी राखेर नेताहरुको पाइला चाटेर चार-चार पटक उपप्रधानमन्त्री हुनुभयो। सुदूरपश्चिमले के पायो?’ उनले प्रश्न गरे।

बुटवलको एमाले महाधिवेशनमा ओली समूहबाट उपाध्यक्ष लडेर रावल हारेको र सम्झाउँदा पनि नमानेर माधव नेपाल खेमामा गएको भन्दै आलेले हारेपछि पनि आफूले झलनाथ, माधव र केपी ओलीको घर गएर रावललाई स्थायी कमिटीमा लान पहल गरेको पनि दाबी गरे ।

आलेले मन्त्री नबनाएपछि रावल नियोजित रुपमा सरकारविरुद्ध उत्रिएको आरोप लगाए । ‘डाक्टर रावल कमरेड उपप्रधानमन्त्री बनाइदिनुपर्योँ भनेर बालुवाटार जानुभयो। प्रधानमन्त्रीजीले तपाईंलाई कतिपटक हुने भनेर अस्वीकार गरेपछि छोड्नुहुन्छ भनेर उता (प्रचण्ड-माधव समूह) उचाल्ने काम गरे ।’ नवनियुक्त मन्त्री आलेले सुदूरपश्चिममा रावलको शीर निहुरिने गरी काम गरेर देखाउने घोषणा समेत गरे ।

‘चार-चार पटक उपप्रधानमन्त्री भएर उहाँले एउटा माखा मार्न सक्नुभएन। विकास थाहा छैन उहाँलाई । उहाँ नगरपालिकाको १० लाखको रिबन काट्न जाने । मैले २ अर्ब २० करोडको योजना हालेर प्रधानमन्त्रीलाई बोलाउन खोज्दा रोक्नुहुन्छ । डाक्टर भीम रावलजस्तो तुच्छ मान्छे आजसम्म देखेको छैन। अवसरवादी हो। यो डाक्टर ठिक छैन । उहाँसँग संगत गरेर जति समय धेर फालेँ, धिक्कार गरेको छु ।

डोटीमा ९० प्रतिशत जनता ओली पक्षमा छन् । पर्सी १० हजारको जुलुस निस्किँदैछ । आँखा खोलेर हेर्नुस् डाक्टरजी,’ आलेले भने । डाक्टरको पछाडि नलाग्नुस् । तपाईहरुलाई सद्बुद्धि आओस् । म मन्त्री भएन भनेर गाली गर्ने, सुदूरपश्चिममा दादागिरी गर्ने भीम रावलको अब पतन हुन्छ । अन्त्य सुनिश्चित छ । भीम रावललाई छोडेर ओलीको पछाडि आउनुस् ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि भीम रावलको कडा आलोचना गरे । उनले आफू पनि केही समयपछि डाक्टर बन्न लागेको भन्दै धेरै विद्धता नदेखाउन चेतावनी दिए । ‘डाक्टर भीम रावल पार्टी एकताको पक्षमा थिएनन् । ठूल्ठूला पदका लड्डु घ्यूसँग मनमनै खाइरहेका थिए । अहिले पार्टी एकताबाट भागे। उनी कसैलाई नेता नमान्ने मान्छे हुन् । कुनै राजनीतिक मतलब छैन । स्वार्थ सिद्धीका लागि मात्रै मरिमेट्छन् ।

आफूभन्दा माथि चाकरी गर्ने र आफूभन्दा तल शासन गर्ने उनको शैली हो । पार्टी एकताले त्यो अन्त्य गर्यो । तै पनि पद प्राप्त गर्न प्रयास गर्नुभयो । भित्रभित्रै प्रधानमन्त्रीको चाकडी गर्नुभयो बाहिर विरोध गरे । भित्र अनुनय विनय गरे । एकै मान्छेलाई कतिपटक मन्त्री बनाउने भन्दै ओलीले पद नदिएपछि सरकारको विरुद्धमा लागे । प्रचण्डलाई ओलीविरुद्ध उचाले ।

१९ बुँदे आरोपपत्रमा डाक्टर भीम रावल संलग्न छन् । उनी षडयन्त्रमा ख्यातिप्राप्त छन् ।’ उनले सुदूरपश्चिममा अब भीम रावलको चुरीफुरी अन्त्य हुने बताए । ‘बाजुरामा ९५ प्रतिशत हामीसँग छन् । दार्चुलामा ९० प्रतिशत छन् । कैलालीमा सबै हामीसँग छन् ।

बझाङको खड्का, कञ्चनपुरका फैरु तामाङ, डोटीका रामबहादुर ऐर हामीसँग यहाँ छन् । सुदूरपश्चिममा भीम रावल र झपट रावलबाहेक सबै हामीसँग छन् । बहुमतमा छौं,’ उनले दाबी गरे, ‘भीम रावलले कार्यालय बनाउन दिएनन् । संगठन बनाउन दिएनन् । अब गाउँ गाउँ जान्छौं । अब बन्छ । त्यसका लागि तपाईं कार्यकर्ताहरु सेनाका रुपमा खटिनुपर्छ ।’ ‘डाक्टर भीम रावलमात्र त्यहाँको नेता होइन ।

अब राम्रैसँग धुलो चटाउँछौं । सुपका सयौं मान्छेभन्दा पनि जुनियर हुन्छ । कहिल्यै गाउँ जिल्ला कमिटीमा बसेनन् । टुप्पोबाट पलाए । गाउँ थाहा छैन। अब हिसाब किताब हुन्छ ।’ नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x