नेपाल-भारत बिच विगतमा रहेका समस्याबाट दुवै देश अघि बढिसके-जयशंकर
भारतका परराष्ट्रमन्त्री डा. सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् ।
नेपाल-भारत संयुक्त आयोगको बैठक तय भएको १२ दिनअघि बिहीबार द हिन्दुमा प्रकाशित अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले छिमेकीहरुबीच समस्या हुनु स्वभाविक रहेको र ती समस्याबाट अघि बढेकाे बताएका छन् ।
उनले भारतका अधिकांश छिमेकी प्रजातान्त्रिक मुलुक रहेको टिप्पणी पनि गरेका छन् ।
‘हो, कुनै समयमा हामीबीच बिषयहरु थिए । तर विगत केही सातामा स्पष्टरुपमा हामी देख्न सक्छौँ कि नेपाल र भारतले अगाडि बढ्नका लागि निर्णय गरेका छन् र यो केही आपसी कुरा हो’ जयशंकरले द हिन्दूकी बिदेश मामिला सम्पाद सुहासिनी हैदरसँग अन्तर्वातामा भनेका छन् । विदेशमन्त्री जयशंकरले छिमेकमा अनेकौँ परिवर्तन आएको र त्यसलाई पनि हेर्नुपर्नेमा जोड दिएका छन् ।
विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘मैले भनेको छु कि घटनाक्रमहरुलाई न्यायको अन्तिम गजका रुपमा लिनु हुँदैन । समस्याहरु आउँछन् । आपसमा समस्या नभएका छिमेकी मुलुकहरु कुन छन्, मलाई देखाउनुस् । हाम्रा अधिकांश छिमेकीहरु प्रजातन्त्रबादी मुलुक छन् । राजनीति उनीहरुको आफ्नो छ, हाम्रो आफ्नो छ । त्यहाँ बिषयहरु हुन्छन् । यसको व्यवस्थापन कसरी गर्नुहुन्छ र मिलन बिन्दु कसरी खोज्नुहुन्छ भन्ने अहम् बिषय हो ।’
नेपाल र भारतबीच यसबीचमा ११ मंसिरमा परराष्ट्र सचिवस्तरीय वार्ता भएको थियो । त्यसअघि स्थल सेनाध्यक्ष मनोज मुकुनद नरभणेको औपचारिक भ्रमण भएको थियो भने उनी भन्दा अघि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए । नयाँपत्रीका बाट


