२ श्रावण २०८३, शनिबार

नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्ने गरी काम गर्छौँ : मन्त्री दाहाल

एसीपी संवाददाता

१७ भाद्र २०८१, सोमबार १४:४७ मा प्रकाशित

चितवन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताएका छन्  । आज एक कार्यक्रममा उनले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताए ।


चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । ‘सडक निर्माणको काम सुरु भएको लामो समय भइसकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ’, उनले भने।

नेपालमा काम अलपत्र पारेर चिनियाँ ठेकेदार फरार


चिनियाँ मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने,’सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।’

उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रस्ट पारे । मन्त्री दाहालले भने, ‘बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्र गतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्छ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।’

यसै गरी उनले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख लाइसेन्स बनिसकेको बताए ।

मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के—के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले रेलमार्गको अध्ययनका लागि बर्सात सकिएपछि काम सुरु हुने बताए  । रेलमार्गको रेखाङ्कन भए पनि बैङ्कले ऋण प्रवाह नगर्ने, जग्गा खरिद बिक्री नहुनेजस्ता समस्याका कारण स्थानीय आक्रोशित भइरहेको सुनाए । सचिव शर्माले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मन्त्रालयले रेलमार्ग निर्माण गर्ने बताए । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x