भारतबाट अनुदानमा आएको कोरोना बिरुद्धको खोप लगाउने अभियानको बुधबार बिहान १० बजे प्रधानमन्त्रीले शुभारम्भ गर्ने
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ ।
फाइल तस्बिर
सरकारले आगामी बुधबारदेखि कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । तर, दुई दिन बाँकी रहँदा पनि खोपले पार्न सक्ने अवाञ्छित असर र प्रभावले निम्त्याउने समस्या सम्बोधन गर्ने विषयमा कुनै निर्णय भएको छैन । यसबारे सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खोप अभियान सञ्चालनको पूर्वसन्ध्यामा आइतबार स्वास्थ्य मन्त्रालयले प्रदेशका मुख्यमन्त्री, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुखलगायत विभाग र महाशाखा प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेको थियो । जसमा खोपले ‘साइडइफेक्ट’ हुन सक्ने भएकाले दक्ष चिकित्सकसहितको स्वास्थ्य टोली खटाउन र सातवटै प्रदेशमा ‘एयर लिफ्टिङ’को व्यवस्था मिलाउन माग भएको छ । ‘एयर लिफ्टिङ’को व्यवस्था नभए खोप सञ्चालनमा कठिनाइ हुने उनीहरूको भनाइ छ । सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सातवटै प्रदेशमा एनेस्थेसियासहितको विज्ञ चिकित्सकको टिम तयारी अवस्थामा राख्न आग्रह गरे । ‘सुदूरपश्चिमको कुनै पनि ठाउँमा खोपका कारण कुनै घटना भए, तत्काल उपचार गर्न एयर लिफ्टिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि एक हेलिकोप्टर तयारी अवस्थामा हुनुपर्छ,’ उनले भने ।
खोप अभियान थाल्दा आउने सबै प्रकारका चुनौतीलाई मध्यनजर गरेर तयारी गर्नुपर्ने डा. अवस्थीको भनाइ थियो । ‘वर्षौँदेखि लगाउँदै आएका नियमित खोप लिएको एक हप्तापछि शिशुको मृत्यु हँुदा त कति ठूलो हंगामा भएका छन् । यो भर्खर आएको नयाँ खोप व्यवस्थापन गर्न त्यति सहज छैन, सरकारले सम्भावित सबै चुनौतीलाई मध्यनजर गर्दै तयारी गर्नुपर्छ,’ उनले भने ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले खोप लगाउने क्रममा घटना भए तत्काल कुन अस्पताल लैजाने भन्ने अहिलेसम्म स्पष्ट नभएको भन्दै गुनासो गरे । ‘१४ गते केही जिल्लामा मात्रै खोप सञ्चालन गर्छौँ । त्यसको प्रभावकारिता हेरेपछि अन्य जिल्लामा सुरु गर्ने हो । अहिले कर्मचारीलाई भ्याक्सिन लगाउन मात्रै तालिम दिइएको छ, त्यसरी सफल हुँदैन । खोप लगाउँदा आउने समस्यालाई विशेष ध्यानमा राखेर उपचारका लागि विशेषज्ञ टोली तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने । खोप अभियानभर एयर लिफ्टिङका लागि सबै प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राख्नुपर्ने माग पनि डा. शर्माले गरे ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतबाट उपहारमा आएको खोप फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई सुम्पिने
भारतले नेपाललाई अनुदानमा दिन लागेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउदै
भारतबाट आउन लागेको कोरोनाविरुद्धको १० लाख खोप देशभर एकैपटक लगाइने
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु गिरीले पनि खोप लगाउँदा ‘साइडइफेक्ट’ हुन सक्ने भन्दै उपचारका लागि विज्ञ चिकित्सकको टोली तयारी अवस्थामा राख्नुपर्ने बताए । ‘खोप लगाएपछि ३० मिनेट अब्जरभेसनमा बस्नुपर्छ । त्यसवेला तालिमप्राप्त मेडिकल अफिसर खटाउनुपर्छ । एकजनाको मृत्यु भयो भने सम्पूर्ण खोप कार्यक्रम नै प्रभावित हुन्छ,’ उनको भनाइ थियो ।
सरुवारोग अस्पताल गण्डकीका डा. विकास गौचनका अनुसार खोप लगाएपछि देखा पर्न सक्ने जटिलताका विषयमा सरकारले ध्यान दिएको छैन । ‘जटिलताको व्यवस्थापनमा स्पष्टता भए हामीलाई काम गर्न सजिलो हुन्छ,’ उनले भने । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले पनि आइपर्ने समस्या समाधानका लागि एयर लिफ्टिङ आवश्यक भएको बताए । ‘कर्णाली प्रदेश भूगोलका हिसाबले निकै जोखिमयुक्त छ । सबै ठाउँमा १४ गते खोप लगाउन सम्भव छैन । खोप सञ्चालन, अवाञ्छित असर र प्रभाव रोक्न हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
स्वास्थ्यकर्मीको प्रश्न : महामारीमा खटिँदा पिपिई र जोखिम भत्तासमेत पाएनौँ, खोपचाहिँ किन सुरुमा हामीले लगाउने ?
कोभिड– १९ महामारी नियन्त्रणका लागि दुर्गममा खटिएका स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् । तर, उनीहरूले सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्तासमेत पाएका छैनन् । उनीहरूले भने, ‘महामारीमा खटिँदा पिपिई र जोखिम भत्तासमेत दिइएन । तर, अहिले खोपचाहिँ किन हामीले सुरुमा लगाउने ?’ स्वास्थ्य मन्त्रालयले आइतबार गरेको छलफलमा यो प्रश्न पनि उठेको छ ।
‘हामी (स्वास्थ्यकर्मी)ले कोभिडको समयमा साधारण पिपिई पनि पाउन सकेनौँ, त्यस्तो वेला पनि हामीले कर्तव्य बिर्सेनौँ, काममा खटियौँ । सरकारले दिने भनेको जोखिम भत्ता पनि स्थानीय तहका ८० प्रतिशत कर्मचारीले पाएका छैनौँ । खोपचाहिँ किन स्वास्थ्यकर्मीले सुरुमा लगाउने ?’ फिल्डमा खटिएका स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले छलफलमा भने । सबै प्रदेशका स्वास्थ्यकर्मीको यो साझा प्रश्न भएको उनको भनाइ थियो ।
प्रदेश स्वास्थ्य निर्देशकहरूका अनुसार महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले पिपिईको अभावमा समेत बिरामी हेरेका छन् । बुधबार बिहान १० बजे प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्दै कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान बुधबारबाट सुरु हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले खोपको शुभारम्भ गर्दै छन् ।
स्वास्थ्यसचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप दिइनेछ ।
अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप आइतबार विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइएको छ । सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएको छ । एकजनालाई दुई डोज खोप लगाउनुपर्छ । १० देखि १५ प्रतिशत खोप खेर जान्छन् । यस हिसाबले करिब चार लाख नागरिकले मात्रै पहिलो चरणमा खोप पाउँछन् । तर, सरकारले खेर नजाने गरी चार लाख ३० हजार नागरिकलाई खोप दिने योजना बनाएको छ ।
दोस्रो चरणमा १७ प्रतिशत नागरिकलाई दिने सरकारको योजना छ । जसमा ५५ वर्षमाथिका र ४० देखि ५५ वर्ष उमेर समूहका दीर्घरोगीलाई राखिएको छ । त्यस्तै, विदेशबाट फर्किएर आएका दीर्घरोगीलाई पनि १७ प्रतिशतभित्र समेटिएको छ । ‘सुरुमा चार लाख ३० हजार नागरिकलाई खोप लगाउँछौँ । त्यसबीचमा खरिद गर्न सकेको खण्डमा तीन प्रतिशतको अर्थात् नौ लाख ११ हजारमध्ये बाँकी रहेका चार लाख ८१ हजारलाई दिएपछि मात्रै दोस्रो चरणको १७ प्रतिशतमा जानेछौँ,’ स्वास्थ्य मन्त्रालयले आइतबार प्रदेशका मुख्यमन्त्री र क्षेत्रीय स्वास्थ्य निर्देशकहरूसँगको छलफलमा सचिव अर्यालले भने । खोप स्वेच्छामा मात्रै लगाइने उनले बताए । साभार नयाँ पत्रिकाबाट


